मस्कोमा भएको आतंककारी हमलामा युक्रेनको संलग्नता रहेको रुसी छानबिन समितिले दाबी

काठमाडौं । रुसको राजधानी मस्कोमा भएको आतंककारी हमलामा युक्रेनको संलग्नता रहेको रुसी छानबिन समितिले दाबी गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार सोमबार बसेको छानबिन समितिको बैठकले यस्तो तथ्य सार्वजनिक गरेको हो । छानबिन समितिका अध्यक्ष एलेक्सान्डर बास्ट्रिकिनले यस्तो दाबी गरेका हुन् ।

गत मार्च २२ मा रुसको राजधानी शहर मस्कोमा रहेको क्रोकस सिटी हलको कन्सर्टमा भएको आतंककारी हमलामा १४० को मृत्यु भएको थियो । आतंककारी हमलाकारीहरुले गोलाबारी गरेर सर्वसाधारणको ज्यान लिएका थिए । गोलाबारीपछि उनीहरुले भवनमा आगो लगाएका थिए ।

रुसले आतंककारी हमलामा जोडिएर पक्राउ परेकाहरु विदेशी भएको र त्यसमा युक्रेनको संलग्नता रहेको पटक पटक भन्दै आएको छ । हमलाकारहरु युक्रेनी सीमा पार गरेर जान लाग्दा पक्राउ परेपछि रुसको यस्तो आशंका र आरोप सुरुबाट नै आएको थियो ।

२६,चैत्र.२०८०,सोमबार १८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्