रुपन्देही । लुम्बिनी प्रदेश सभा पाँचौँ अधिवेशनको दोस्रो बैठक आज बुधवार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बैठकमा प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएको दुईवटा विधेयक सम्बन्धी प्रस्ताव पेश हुनेछ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा विधेयक सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएका थिए । यी दुई विधेयक प्रदेश सभाले पास गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाइएको थियो ।
प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २७ गते प्रदेशसभाबाट पास भएको थियो । यी दुवै विधेयक प्रदेश प्रमुखले सन्देश सहित असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका थिए ।
यस्तै प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्मीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने र प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्