दिवा खाजामा चरम अनियमितता : बन्द विद्यालयका अभिभावकलाई नै नगद

काठमाडौं । बालबालिकालाई विद्यालय समयमा सरकारकातर्फबाट दिइने दिवा खाजा कार्यक्रममा चरम अनियमितता देखिएको छ । महालेखाको प्रतिवेदनले स्थानीय तहमा दिवा खाजा कार्यक्रममा चरम अनियमितता देखिएको पाइएको छ ।

प्रतिवेदनअनुसार रौतहटको परोह नगरपालिकाले दिवा खाजा वापतको रकम नगद रकम विद्यार्थीका अभिभावकलाई बुझाएको दाबी गरेको छ । नगरपालिकाका अनुसार २०७७ मा अभिभावकलाई दिवा खाजामार्फत एक करोड १७ हजार रुपैयाँ नगद पैसा दिइएको हो ।

नगरपालिकाले विद्यार्थीका अभिभावकलाई नगद दिएको दाबी गरेपनि अभिभावकले नगद बुझेको भरपाई प्राप्त गरेको छैन् । दिवा खाजाको रकम विद्यालयलाई दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था विपरित नगरपालिकाले दिएको पैसा बुझको भरपाई प्राप्त नहुनुले व्यापक अनियमितता देखिएको छ ।

यस्तै, कोरोनाको समयमा विद्यालयहरु बन्द भएको अवस्थामा यही कार्यक्रमका लागि धनुषा, सिरहा, रौतहटका नगरपालिकासहित २८ नगरपालिकाले करोडौं रुपैयाँ निकासा गरेका छन् । उनीहरुले दिवा खाजा कार्यक्रम अन्तर्गत २०७७ सालको वैशाख, जेठ र असार महिनामा १४ करोड २१ लाख ६८ हजार रुपैयाँ विद्यालयलाई निकासा गरेका छन् ।

यस्तै, रौतहट, सप्तरी, धनुषा लगायत जिल्लाका १३ गाउँपालिकाले १६६ विद्यालयलाई २०७७ को जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको रकम निकासा गरेका छन् । उनीहरुले ६ करोड ५६ हजार रुपैयाँ निकासा गरेको पाइएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विद्यालयहरु पूर्णरुपमा बन्द रहेको समयमा नियम मिचेर भएको निकासा असुल हुनुपर्ने महालेखाले बताएको छ ।

६,भाद्र.२०७८,आईतवार १४:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्