कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै, सरकार बन्यो रमिते

भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाइन । उनलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाइन ।

दुई दिनसम्म ज्वरो ओर्लिएन । सरकारले होम आइसोलेशनमै बस्न भनेको छ । दोस्रो दिन मनमायाले विभिन्न अस्पतालमा फोन गरिन, कतै श्यया खाली भएको जानकारी पाइयो । “अस्पतालमा जुनसुकै बिरामी गए पनि पिसिआर परीक्षण नभई उपचार गर्न निजी अस्पतालले नमान्ने रैछन्, सरकारीमा ठाउँ छैन”, उनले भनिन ।

भक्तपुरकै तीन निजी अस्पतालमा कुरा गर्दा सङ्क्रमितको उपचारमा दिनकै रु ३५ हजार शुल्क लाग्ने र त्यो पनि श्यया छैन, भन्ने गरिएको उनको बुझाइ छ । “बाहिर निषेधाज्ञा छ, ज्वरो र खोकीको औषधिले अलि कम भएजस्तो भयो तर निको भएन, तेस्रो दिन पिसिआर परीक्षण गर्ने सल्लाह हुँदै थियो, अचानक दिउँसो १ः०० बजे श्वास फेर्न गाह्रो भो, एम्बुलेन्स र अस्पतालको खोजी गर्दागर्दै कोठामा ज्यान गयो”, उनले भनिन ।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई भन्दा पिसिआर परीक्षणमा कोरोना पुष्टि भएर वडा कार्यालयले मुचुल्का उठाएर शव प्याक गरेपछि मात्रै लैजाने भन्ने जवाफ दिए । त्यो प्रक्रिया नहुने भएपछि आफन्तको सहयोगमा राति १०ः०० बजे पशुपतिमा शव दाह संस्कारका लागि लगियो ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेका शम्भु कार्कीको अचानक राति अक्जिसनको मात्रा घट्यो । अस्पतालमा श्ययाका लागि हारगुहार गर्दागर्दै बिहान ४ः०० बजे घरमै मृत्यु भयो । कोरोना भएपछि होम आइसोलेशनमा बसेकालाई गाह्रो हुने बित्तिकै अस्पतालमा श्यया नपाउँदा उपचार नै नपाएर ज्यान जाने गरेको बताइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले होम आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितमध्ये ३१ जनाको घरमै मृत्यु भएको जानकारी दिए । त्यसमध्ये गत वैशाखयता मात्रै २१ सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु भएको उनले बताइन । यो सङ्ख्या सङ्क्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाको मात्रै हो । कतिपयले कोरोना सङ्क्रमणको लक्षण देखिए पनि पिसिआर परीक्षण नगर्ने र सामान्य रुघाखोकीको ज्वरो हो भनेर बस्दा घरमै ज्यान जाने सङ्क्रमितको तथ्याङ्क कार्यालयले राख्दैन ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भाइरससँग मिल्ने लक्षण देखिँदा र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले पिसिआर परीक्षण नगरी घरमै बस्दा ज्यान जोखिममा पर्न सक्ने बताइन । सङ्क्रमण भएर होम आइसोलेशनमा बसेपछि आवश्यक औषधि चलाउन सकिने र श्वासप्रश्वासमा समस्या भए तत्काल अस्पताल लैजान सकिने उनको भनाइ छ ।

होम आइसोलेशनमा बस्नेले उचित स्वास्थ्य परामर्श नपाउँदा, सामाजिक सञ्जालमा सङ्क्रमितले खाने भनेर राखिएका औषधि हचुवाको भरमा खाँदा ज्यान जोखिममा पर्ने डा गौतम बताए । चिकित्सकसहितको परामर्श दिने व्यवस्था स्थानीय सरकारले समयमै शुरु नगर्दा होम आइसोलेशनमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।

भक्तपुरमा आजसम्म १९ हजार ३४४ सङ्क्रमितमध्ये तीन हजार ५४२ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए । अहिले विभिन्न आइसोलेशनमा २०८, होम आइसोलेशनमा तीन हजार ३३४ जना रहेका छन् भने १५ हजार ५५६ सङ्क्रमित निको भएर फर्किएका छन् । सङ्क्रमितमध्ये २४६ जनाको ज्यान गएको छ ।

१४,जेष्ठ.२०७८,शुक्रबार १५:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्