छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
वि.सं.२०८२ कात्तिक ८ शनिवार ०५:०१
shares

जनकपुरधाम । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।
पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
पारिवारिक सुख-समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना रहेको छ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ।
अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् । जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक जलाशयहरू नवदुलहीझैं सिंगारिने क्रम जारी छ । मिथिलाञ्चल र सम्पूर्ण तराई-मधेश अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान बनेका छन् ।






















