काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

नदी प्रदूषण गरेको आरोपमा मोबिल उद्योगका लेखापालमाथि दुर्व्यवहार

1.5K
shares
khanepani bord

काठमाडौँ । सिर्सिया नदी प्रदूषण गरेको आरोपमा वीरगञ्जमा एक उद्योगका मुंशी (लेखापाल) लाई मोबिल छ्यापिएको छ। वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका लेखापाल जीतपुर निवासी काशीनाथ तिवारीलाई मोबिल छ्यापिएको हो।

काशीनाथ तिवारीले एक मिडियालाई अन्तर्वार्ता दिँदै गरेको अवस्थामा स्थानीयले बोतलमा ल्याएको मोबिल छ्यापेका हुन्।

तिवारीले गल्तीले केमिकलयुक्त पानी नदीमा जाने गरेको बताउँदै अबदेखि फोहोर पानी नखसाल्ने प्रतिबद्धता जनाउँदै थिए। सोही बखत त्यहाँ उपस्थित रहेका स्थानीय युवाहरूले बारम्बार नदीमा फोहोर पानी नखसाल्ने प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने गरेको आरोप लगाउँदै उनीमाथि मोबिल छ्यापेका थिए।

मधेसमा नदी किनारमा नै छठपर्व मनाइन्छ। सूर्यलाई अघ्र्य दिने बेलामा पानीमा पस्छन्। छठ पर्व नजिकिए पनि यस वर्ष सिर्सिया नदीमा प्रदूषण हटेको छैन। वीरगञ्ज महानगरपालिकाले केही दिनअघि बोलाएको बैठकमा सरोकारवालाले नदी प्रदूषण नगर्ने प्रतिबद्धता जनाएका थिए।

स्थानीयवासीका अनुसार तिवारी कार्यरत कम्पनीबाट निस्कने ‘म्याक्सोल ल्युब्रिकेन्ट’ उत्पादन प्रक्रियामा प्रयोग भएका रासायनिक फोहोर पदार्थहरू प्रशोधन नगरी सिर्सिया नदीमा मिसाउने गरिएको छ।

स्थानीय अरूण कुमार मण्डलले जनप्रतिनिधिले समेत नदी प्रदूषण नियन्त्रणका लागि चासो नदिएको आरोप लगाए।

स्थानीय युनिटका प्रहरीको उपस्थितिमै भएको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय पर्साले भने जानकारी नभएको बताएको छ।

उद्योगले अबदेखि फोहोरपानी सिधै नदीमा नखसाल्ने सहमति भइसकेको तर मोबिल छ्यापेको घटनाकाबारेमा पीडितले जानकारी नगराएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी दिए।

‘अलि अगाडि नै खोलामा मोबिल हाल्यो भनेर विवाद भएपछि दुई पक्ष बसेर अब नहाल्ने सहमति भएको थियो, आज पनि छठको पूजा गर्नुपर्ने ठाउँमा मोबिल हालिदियो भन्ने विषयमा विवाद भएपछि प्रहरी पुग्यो, मोटरले तानेर फोहोर पानी फालिदिने, पछि फेरि बसेर निष्कर्ष निकाल्ने सहमति भएको थियो,’ उनले भने, ‘हामीलाई मोबिल लगाइदियो भनेर रिपोर्टिङ भएको छैन, कोही पीडितहरू पनि आउनुभएको छैन, घटनाबारे बुझिराखेका छौं। त्यस्तो भएको रहेछ भने कानुनी दायरामा ल्याउँछौं।’

khanepani