जसपाले धनगढीमा टुंगो लगायो मेयर र उपमेयरका उम्मेदवार
वि.सं.२०७९ वैशाख १० शनिवार १६:५०
shares

धनगढी । कैलालीमा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ ।
गठबन्धनबाट बाहिरिएर मधेश केन्द्रित दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जसपाले धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको छ ।
शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ऐर र रानाथारुलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएको हो ।
जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ ।
अब जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्नेछ ।






















