चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री शाहको निर्देशन
वि.सं.२०८२ असोज १० शुक्रवार १६:५६
shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले दसैँ, तिहार र छठ जस्ता चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्नसक्ने भएकोले शान्ति सुरक्षा तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
समाजमा हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरु नियन्त्रण र सडक दुर्घटना न्यूनिकरण गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकाको दायित्व भएकोले त्यसतर्फ सहज रहन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
बैठकमा हालै देशका विभिन्न ठाउँमा भएका घटनाहरूले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षामा पारेको प्रभाव र विद्यमान अवस्थाबारे पनि छलफल भएको थियो ।
भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिलाई सामान्य बनाउँदै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नेपाल प्रहरी र अन्य सरकारी निकायहरूले नागरिक समाज र पेसागत समूहहरूसँग मिलेर संवाद र सद्भावका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको छ ।
मुख्यमन्त्री शाहले चाडपर्वको समयमा हुन सक्ने विभिन्न समस्यालाई रोक्न ठोस कदम चाल्न निर्देशन दिएका छन् । उनका निर्देशनहरूमा बजारमा खाद्यान्नको सहज आपूर्ति गर्ने, कालोबजारी नियन्त्रण गर्ने तथा चोरी, डकैती र लुटपाटका घटनाहरूलाई रोक्न प्रभावकारी सुरक्षा योजना बनाउने रहेका छन् ।
यस्तै, बजारमा मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र म्याद नाघेका खाद्यवस्तुको बिक्री जस्ता अस्वाभाविक गतिविधि नियमन गर्न अनुगमनलाई प्रभावकारी बनाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।
सुदूरपश्चिमबाट भारत जाने मुख्य नाकाहरूमा चाडपर्वको बेला हुन सक्ने लुटपाटका घटनालाई नियन्त्रण गर्न र भारत आउने-जाने नागरिकलाई सहज बनाउन आवश्यक सहकार्य गर्न पनि मुख्यमन्त्रीले जोड दिएका छन् । उनले सुरक्षा निकायहरूलाई यात्रुमैत्री एकीकृत जाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।























