काठमाडौं । काठमाडौं प्रहरीले फेरि सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गुरूङलाई प्रहरीले...

पुरा पढ्नुहाेस्

एक महिना हुनै लाग्दा पनि दमकल दमकल भनेको धेरै सुनियो !

559
shares
khanepani bord

तर त्यो आगो बिजुली सट भएर लागेको, चुरोटको ठुटो सल्केर लागेको या कुनै घरमा ग्यास पड्केर लागेको प्राकृतिक विपत्ति त पक्कै थिएन ।
त्यो राजनीतिक आवरणको ढढेलो थियो । सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो । चार-पाँच घण्टाको बीचमा विभिन्न स्वार्थसमूहले छानीछानी लगाएको विध्वंशको आगो थियो ।

त्यो पाँच घण्टा देशमा सरकार थिएन । नेताहरू घरपछाडिको पर्खाल नाघेर, हेलिकप्टर चढेर भागिसकेका थिए । पुलिसले आफ्नो बर्दी, हतियार र आफ्नै घर बग्गीखानासमेत बचाउन सकेको थिएन । उसका सड़कमा आए जति सबै ट्रक, गाड़ी र भीड़ व्यवस्थापन गर्न सक्ने उपकरण ह्वारह्वार्ती बल्दै थिए । देशमा राष्ट्रपति निवासमैं आगो थियो । उनी कहाँ छन्, पत्तो थिएन । जेलबाट नाराजुलुश गर्दै विजयी मुद्रामा कैदीहरू सड़कमा थिए ।

आजको शान्त सड़कमा बसेर अनुमान गर्न मिल्ने सामान्य आगो थिएन त्यो । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो । न सरकार थियो, न सुरक्षा थियो । न प्रहरी थिए, न सेना बाहिर थियो । बाटोमा भेटिएको निहत्था प्रहरी जबानलाई पिटी पिटी मारिँदै थियो, घरभित्रै आगो लगाएर मान्छे जलाइँदै थियो । त्यहाँ विवेक, गाइडलाइन, नर्म्स, इथिक्स, घोषित प्लान या नेतृत्व केही थिएन । न आन्दोलनको कमाण्ड थियो, न सरकार र यसका संयन्त्रको । देश पूर्ण अराजकताको स्थितिमा थियो । सबै आआफ्नो जिउज्यान बचाउन भूमिगत थिए ।

मन्त्रीदेखि कर्मचारी, पुलिसदेखि नेतासम्म सबै आआफ्नो जिम्मेबारीबाट भागेको र सिङ्गो सिस्टम नै टोटल कोल्याप्स भएको त्यस्तो अकल्पनीय आँधीमा एम्बुलेन्स र दमकल ड्राइभरले मात्रै कमाण्ड मानेर, रेडी भएर बस्ने अनि जिउज्यानको जोखिम मोल्दै सड़कमा निस्किने भन्ने कुरा सजिलो हुँदैन । आफै लागेको आगो निभाउन जाँदा तपाईं भगवान् हुनुहोला, तर नियोजित आगो निभाउन जाँदा तपाईं टार्गेट बन्नुहुन्न भन्ने ग्यारेन्टी के हुन्छ र ! फेरि परिस्थिति यति तरल र विकराल थियो कि कहाँ कहाँको कल कसले उठाउने ? कुन भवन या आगोलाई प्राथमिक ठान्ने ? हाम्रो साधनस्रोत अनुसार त्यति छोटो समयमा ऱ्यापिड रेस्पोन्स गर्न सामान्य स्थितिमा त मुश्किल हुन्छ । त्यस्तो भयानक स्थितिमा सबै सूचना लिएर, स्थिति मूल्याङ्कन गरेर अनि जनशक्ति परिचालन गर्ने अवस्था थियो होला र ?

धन्न स्वास्थ्यकर्मी अनवरत खटिएर सेवा दिँदै थिए र केही थप ज्यान जोगियो होला । तिनलाई उच्च सम्मान दिनुपर्छ । तर अरू को को आफ्नो कार्यालयमा थिए होलान् र स्थिति नियन्त्रण गर्ने प्रयास गर्दै थिए होलान् ? दमकल आफै चल्दैन । गाड़ी, बड़ी गार्ड, मोटो तलबभत्ता र हजारौँ कार्यकर्ता भएका मन्त्री त आफ्नो कार्यकक्षमा थिएनन्, त्यस्तो आगोको मुस्लोमा, पूर्ण असुरक्षा र अविवेकी भीड़ छिचोलेर दमकल ड्राइभर सजिलै जान सक्दा हुन् ? तिनले कुन अर्डर पहिले लिने ? राजीनामा दिएकै भए पनि ओली कामचलाउ प्रधानमन्त्री थिए । उनको घर निभाउने कि देशको सर्वोच्च संस्था राष्ट्रपतिको ? बानेश्वरको आगो निभाउने कि सर्वोच्चको ? नजिकैको स्वास्थ्यमन्त्रालय पुग्ने कि सिंहदरबार ? पुलिस चौकी निभाउने कि पुलिसको बग्गीखाना ? अनि एक दुई दमकलले निभाउन सकिने आगो थियो भन्ने अनुमान गर्न पनि त सजिलो थिएन ।

विषम परिस्थितिमा समेत पुलिस, स्वास्थ्यकर्मी, एम्बुलेन्स सेवा र दमकल सेवा तमतयार रहनुपर्ने हो । तर त्यो चार-पाँच घण्टा हामीले कल्पना गरेभन्दा भयानक थियो । के थियो थियो ! आज पो सबै भिडियो हेरेर, सूचना सङ्कलन गरेर, सङ्लिएको पानी हेरेर यस्तो र उस्तो भन्न सकिन्छ । ड्राइभर र फायरफाइटर कर्मचारीसहित दमकलमैं आगो लाग्ने स्थिति थिएन भन्ने ग्यारेन्टी गर्न सकिन्छ र ?
केन्द्रीय सरकारको राष्ट्रिय विपत् व्यवस्थापन केन्द्र सिंहदरबारमैं थियो । त्यहाँ एउटा कर्मचारी थिएनन् । विकराल स्थितिमा एम्बुलेन्स ड्राइभर मात्रै कतिखेर कल आउँछ भन्दै कुरेर बस्ने स्थिति पक्कै थिएन । एम्बुलेन्स या दमकल मन्त्री, मेयर, उपमेयर या वडाध्यक्षले फोन गरेर खटाउने भन्ने त नहोला । तिनले कर्मचारीलाई अर्डर दिने हो, कर्मचारीले ड्राइभरलाई । त्यसको आफ्नै अफिस, संरचना, कर्मचारी र सिस्टम हुन्छ । तर त्यहाँ त्यो दिन अर्डर लिने र मान्ने स्थिति थियो होला त ? ड्राइभर मात्रै भएर पुग्दैन । ट्रेन्ड प्राविधिक पनि चाहियो । ती सबै अफिसमैं थिए होलान् ? के हाम्रो भाइ या छोरालाई सड़कमा पठाउन हामी राजी थियौँ ? देशमा न ल एन्ड अर्डर थियो, न चेन अफ कमाण्ड ! न कसैले कसैलाई अह्राउने स्थिति थियो, न अह्राएको कसैले मान्ने ! त्यो देशको इतिहासकै कालो क्षण थियो ।

अझै कन्स्पिरेसीलाई बढ़ावा दिनुभन्दा यस्तो स्थिति भविष्यमा नदोहोरियोस्, दोहोरियो भने पनि यसरी सम्बोधन गरियोस् भनेर ठोस योजना निर्माणतिर ध्यान दिनु पो उचित होला कि ! यो निजी विचार हो, यसले नसमेटेको पाटो तपाईंले थप्न पनि सक्नुहुन्छ !
नारायण गाउँले बेलायतमा बस्छन । उनको फेसबुकबालबाट साभार गरिएको हो ।

khanepani