भारी वर्षाका कारण देशभरका दर्जन भन्दाबढि सडकखण्डहरू अवरुद्ध

वि.सं.२०८२ असोज १९ आइतवार ०७:३९
shares

काठमाडौं । शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडकसण्डहरु अवरुद्ध हुँदा आवत-जावतमा रोक लागेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको सुचीका अनुसार उपत्यका र उपत्यका बाहिरका विभिन्न सडकसण्डहरु भारी वर्षाका कारण अवरुद्ध बनेका छन् ।
अविरल वर्षाका कारण संभावित जोखिमलाई मध्येनजर गरी काठमाडौं उपत्यकाबाट विभिन्न नाका भएर बाहिरिने सवारी चालक तथा यात्रुलाई मौसम अनुकूल नभएसम्मका लागि उपत्यकामै रहन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
बाढी पहिरोले आवतजावत अवरुद्ध भएका सडकखण्डहरू
१) भक्तपुरको सूर्यविनायक नगरपालिका ९ साँगा स्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत बन्द भएको छ ।
२) सीतापाइला-धार्के सडक खण्ड अन्तर्गत काठमाडौँको नागार्जुन नगरपालिका ८ ठुलो खोलामा पहिरोका कारण सवारी आवागमन अबरुद्ध भएको छ ।
३) कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका ३ टाकुचे र टिकाभैरवमा पहिरो खसेकाले आवातजावत बन्द छ ।
४) पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बेनीघाट गाउँपालिका ९ लोलाङमा पहिरो खसेकाले सवारी आवागमन पूर्णरूपमा अबरुद्ध भएको छ ।
५) नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ तुइन खोला पुल नजिकै खसेको पहिरोको कारण सवारी आवागमन अवरुद्ध भएको छ।
६) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजार स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली-काठमाडौँ सडकखण्डमा पर्ने डोडारे खोला पुलमा बाढीका कारण सवारी अवरुद्ध भएको छ र हुमाने-फाखेल सडक खण्ड पनि विभिन्न स्थानमा गएको पहिरोका कारण अबरुद्ध भएको छ ।
७) वि.पी.राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोका कारण सवारी आवागमन रोकिएको छ ।
८) वि.पी. राजमार्गमा अन्तर्गत काभ्रेपलाञ्चोक स्थित मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत अवरुद्ध भएको छ ।
९) हेटौडा-भैसे-नौबिसे सडक अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा खसेको पहिरोले सडक पूर्ण रूपमा अबरुद्ध भएको छ ।
१०) अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलोमा सडक भासिँदा तथा धुलिखेल खावा र ५४ किलोमा गएको पहिरोका कारण सवारी आवातजावत बन्द भएको छ ।
११) मेची करिडोर अन्तर्गत इलामको इलाम नगरपालिका-११ बेलासेमा माइखोला पुल क्षतिग्रस्त गएकाले सवारी आवागमन अवरुद्ध भएको छ ।
१२) कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
१३) पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन्।
१४) रसुवाको गोसाइकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको यही असोज १८-२० गतेसम्म भारी तथा अति भारी वर्षाको पूर्वानुमान अनुसार बाढी, पहिरो तथा संभावित विपद् जोखिमलाई मध्येनजर गरी यात्रुको सुरक्षाको लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरने सवारी साधनको आवतजावत बन्द गरिएको छ ।