नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु,यस्ता छन् एजेन्डा

वि.सं.२०८२ असोज २९ बुधवार ०९:४३
shares

काठमाडौं । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। ललितपुरको जावलाखेलमण्डलस्थित रामबाघ महलमा आजदेखि बस्न लागेको बैठक ३ दिनसम्म चल्नेछ ।
केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए ।
उनले भने, ‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको । प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको । शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिने छन् ।’
एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनस्स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताएका छन् ।
त्यस्तै केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्नेछ ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ ।
केन्द्रीय सदस्यहरूलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।