सुदूरपश्चिममा नेकपालाई एक नम्बरको पार्टी बनाउन माधव नेपालको आग्रह
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १७:१३
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई सुदूरपश्चिममा एक नम्बरको बनाउन आग्रह गरेका छन् । शुक्रबार धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले निर्वाचनमा जिताएर नेकपालाई पहिलो पार्टी बनाउन आग्रह गरेका हुन् ।
‘आगामी निर्वाचनमा सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो नम्बरमा बनाउनुपर्छ । गाउँ गाउँमा गएर काम गर्नोस् । जिम्मेवारी पूरा गर्नोस् । पद मात्र ओगट्ने होइन, काम गरेर जनताको मन जित्नुपर्छ । कम्युनिस्ट पार्टीभित्र देखिएका दलालीकरण, अपराधीकरण, भ्रष्टीकरणको प्रवृत्ति विरुद्धको अगुवाइ नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ’, उनले भने ।
जेनजी विद्रोहको बेला संयोजक प्रचण्ड र आफू मात्र राष्ट्रपति निवासमा रातभरी बसेर काम गरेको उनले जिकिर गरे । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई निर्वाचन गर्ने प्रयोजनका लागि अगाडि बढ्नोस् भनेर आफूहरूले नै आग्रह गरेको भन्दै नेपालले सबै नेतालाई उस्तैउस्तै हुन नभन्न आग्रह गरे ।
सम्बोधनका क्रममा उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ भने खनिए । उनले भने, ‘सबै नेता उस्तै उस्तै छैनन् । कोही राम छन् । कोही रावण पनि छन् । कोही बोल्यो कि पोल्यो पनि छन् । आफ्नो प्रशंसा मात्र चाहने पनि छन् ।’
नेपाली कम्युनिस्ट पार्टीमा सुरुमा दुई/तीन पार्टी मात्र एकता हुन्छ भन्ने सोचेको तर अहिले नयाँ नयाँ पार्टी समेत एकतामा जोडिन आएको उनले बताए ।























