विद्यालयमा भ्रष्टाचारः प्रधानाध्यापकसहित तीनजनाविरुद्ध मुद्दा दायर
वि.सं.२०८२ कात्तिक ९ आइतवार २०:१२
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङजाको गल्याङ नगरपालिका वडा नं ४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालिन प्रधानाध्यापकसहित २ जना विरुद्द भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार तत्कालीन प्रधानाध्यापक रबिलाल लुईटेल, लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले प्राप्त उजुरी तथा अनुसन्धानका आधारमा आर्थिक वर्ष २०७८\०७९ मा आइसीटी कार्यक्रम अन्तर्गत विद्यालयलाई प्राप्त ६ लाख ५० हजार रकमबाट २०७९ असार २३ मा डेस्कटप कम्प्युटर ७ थान, प्रोजेक्टर १ थान, ल्यापटप १ थान र प्रिन्टर १ थान खरिद गरिएको थियो ।
तर, खरिद गरिएका सामानमध्ये २ थान कम्प्युटर र १ थान प्रिन्टर विद्यालयमा नल्याइ नक्कली दाखिला प्रतिवेदन तयार गरी २ लाख १७ हजार रकम हिनामिना गरेको देखिएको छ ।
त्यसैगरी, प्रतिवादीले विद्यालयको निर्णयबिना प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार ६६७ रुपैयाँ २६ पैसाको चेक काटेर विद्यालयको कोषबाट निकाली विद्यालयमा फिर्ता नगरी जम्मा ४ लाख ७१ हजा। ६६७ रुपैयाँ २६ पैसा हिनामिना गरेको आयोगको अनुसन्धानले पुष्टि गरेको छ ।
आयोगले स्थलगत प्रतिवेदन र अनुगमनको आधारमा भ्रष्टाचारजन्य यस किसिमको कसूरमा संलग्न व्यक्ति विरुद्ध कानूनी प्रक्रिया अघि बढाएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्दकुमार पौडेलले जानकारी दिए ।























