महिलामाथि हुने हिंसा र हत्याका घटना बढ्दो, तीन महिनामा २१ महिलाको ज्यान गयाे
वि.सं.२०८२ कात्तिक ११ मंगलवार १६:०१
shares

काठमाडौं । महिलामाथि हुने हिंसा र हत्याका घटनामा निरन्तर वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ। ओरेक (ओपन इन्स्टिच्युट फर राइट्स, इक्विटी एण्ड जस्टिस) ले अप्रिलदेखि जुन २०२५ सम्मको तथ्याङ्क सार्वजनिक गर्दै तीन महिनामा ३०८ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएको जनाएको हो। तीमध्ये २१ वटा हत्या र ३ वटा हत्या प्रयासका घटना रहेका छन्।
प्रतिवेदन अनुसार संकलित घटनामध्ये ४१ वटा पत्रपत्रिकाबाट र २६७ वटा ओरेकको कार्यक्षेत्रका प्राथमिक स्रोतबाट संकलन गरिएका हुन्। यी तथ्याङ्कले महिलामाथि हुने हिंसाको स्वरूप अझ गहिरिँदो र ज्यानै लिने स्तरसम्म पुगेको देखाउँछ।
उक्त अवधिमा भएको केही घटनामा घरायसी विवादकै कारण महिलाले ज्यान गुमाएका छन्। कैलालीकी १६ वर्षीया रिता (परिवर्तित नाम) लाई आफ्नै देवरले घाँटी थिची हत्या गरेको घटना, उदयपुरकी सुप्रिया (परिवर्तित नाम) माथि श्रीमान्ले सार्वजनिक स्थलमै छुरा प्रहार गरी हत्या प्रयास गरेको घटना र सोही जिल्लाकी मञ्जु (परिवर्तित नाम) लाई श्रीमान्ले पेट्रोल छर्की आगो लगाएर मार्ने जस्ता घटना घरेलु हिंसाका भयावह रूप भएको ओरेकको भनाइ छ ।
ओरेकका अनुसार यी घटना कुनै आकस्मिक वा व्यक्तिगत विवादका परिणाम होइनन्, बरु पितृसत्तात्मक सोच र महिलामाथि रहेको असमान शक्ति सम्बन्धका गहिरा सामाजिक जरा हुन्। संस्थाले घरेलु हिंसालाई घरभित्रको कुरा भनेर लुकाउने र मेलमिलाप गर्ने प्रवृत्तिले पीडकलाई जोगाउने र अपराधलाई वैधता दिने गरेको टिप्पणी गरेको छ।
नेपाल प्रहरीका पछिल्ला तथ्याङ्कले पनि यस्तै अवस्थालाई देखाएको छ । प्रहरीका अनुसार सन् २०८१/८२ मा मात्रै बलात्कारपछि ४, दाइजोका कारण २ र घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको छ।























