अध्यक्ष-उपाध्यक्षले बजेटमा एकलौटी गरेको भन्दै प्यूठानको माण्डवीका १० सभासदद्वारा गाउँसभा बहिष्कार

वि.सं.२०८२ असार १० मंगलवार १६:०३
shares

रुपन्देही । प्यूठानको माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा वडा नम्बर ३ र ५ का १० जना सदस्यले बहिष्कार गरेका छन् । उनीहरूले बजेट निर्माण प्रक्रियामा एकलौटी र अपारदर्शी भएको आरोप लगाएका छन् ।
वडा नं ३ का अध्यक्ष धनेन्द्र कार्कीले गाउँपालिकाको नेतृत्वले वडाबाट योजना मागे पनि छनोट प्रक्रियामा कुनै छलफल नगरी मनपरी ढंगले बजेट तयार गरेको आरोप लगाएका छन् ।
‘योजना छनोटमा वडाको आवाज सुन्ने प्रयासै भएन’, उनले भने, ‘छलफल र सहमतिविना एकलौटी ढंगले बजेट ल्याइएको देखिएपछि हामी सहभागी भएनौं ।’
वडा नं ५ का अध्यक्ष दुर्गाप्रसाद आचार्यले पनि उस्तै असन्तुष्टि व्यक्त गर्दै भने, ‘स्थानीय आवश्यकता र प्राथमिकता लत्याउँदै अध्यक्ष–उपाध्यक्षले आफ्नो मनपरी योजना घुसाउने प्रयास गरेका छन् । यस्तो प्रवृत्तिविरुद्ध हाम्रो बहिष्कार हो ।’
उनीहरुले बहिष्कार गरे पनि अधिवेशन भने जारी छ । गाउँपालिकाको नेतृत्वले यसबारे कुनै जवाफ दिएको छैन ।
पालिका अध्यक्ष नवराज अधिकारी रोशन माओवादी केन्द्रबाट निर्वाचित हुन् । उपाध्यक्ष पूर्ण कालाखेती नेपाली कांग्रेसबाट निर्वाचित हुन् । बहिस्कार गर्ने कार्की र आचार्य एमालेबाट निर्वाचित भएका हुन् ।